.

२३ औँ राष्ट्रिय धान दिवस मनाइँदै : जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान

जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आज २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेल ले यस दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवद्र्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्ने बताउनुभयो  ।

विभागका अनुसार नेपालमा ४१ लाख ३१ हजार किसान घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानको झण्डै १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ ।

पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिकटनबाट बढेर ४.१९ मेट्रिकटन पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको विभागले जनाएको छ ।

यद्यपि, वार्षिक झण्डै ७० लाख मेट्रिकटन धान आवश्यक पर्ने भएकाले हाल झण्डै १० लाख मेट्रिकटन धान अपुग रहेको छ । यसैबिच

राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो।

धानखेती वर्षामा निर्भर रहने भएकाले धानखेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया