.

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ गराउनुभएको हो ।

यही असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले पूँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र १ वर्षका योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो ।

नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पूँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताउनुभयो । पूँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया