.

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला “गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित“ भएको बताउनु भएको छ । 

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी ७८ वर्षीया हसिनाले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बङ्गलादेश फर्किने बताउनु भएको छ ।मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनुभयो । हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लिगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिनुभयो । उहाँले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकाङ्क्क्षाका लागि नभई राजनीतिक अधिकार, लोकतन्त्र, कानुनी शासन र सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको भावनालाई पुनःस्थापित गर्ने उद्देश्यका लागि भएको दाबी गर्नुभयो । 

हसिनाले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पार्टी नेताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिन, राजनीतिक बन्दीलाई रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक गतिविधिको वातावरण बनाउन वर्तमान सरकारसँग आग्रह गर्नुभएको छ । 

यस्तै प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालको अन्तिम चरणमा भएका कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया