.

झापामा जङ्गली हात्तीको त्रास, उदयपुरमा ६ घर भत्कायो

झापाको मेचीनगर–४ बाहुनडाँगीमा भारतबाट आएका ४० देखि ५० वटा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ । हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत सकिरहेका छैनन् ।

किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन् । स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका, प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन् ।

उहाँले आफुहरुको प्रयास मात्र पर्याप्त नहुने भन्दै नेपाल र भारतबीच समन्वयसहित संघीय सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वन फँडानी, मानव बस्ती विस्तार र प्राकृतिक मार्ग अवरुद्ध भएपछि हात्तीहरू गाउँ पस्न थालेका हुन् ।

वन क्षेत्रमा पर्याप्त आहारा अभाव र गाउँमा सजिलै अन्नबाली तथा खाद्यान्न भेटिनुले पनि हात्तीलाई बस्तीतर्फ आकर्षित गरिरहेको वन्यजन्तु विज्ञहरूको भनाइ छ ।

यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा पनि गएराति जङ्गली हात्ती प्रवेश गर्दा ६ वटा घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ र कर्कटपाताले बनेका घर हात्तीले भत्काएको हो । घर भत्किएका परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी सुरक्षित बसोबासको व्यवस्था गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया