मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रहरीका अनुसार प्रदेश १–०२–०४ ह ०११६ नम्बरको सीटी सफारीले साइकलमा यात्रा गरिरहेका विश्वासलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वासलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ ६ः१० बजेतिर मृत्यु भएको हो ।
यसैगरी मोरङकै रतुवामाई नगरपालिका –१० मौलाबारीस्थित रातेहोली खोलाको डिलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने व्यक्ति पथरीशनिश्चरे नगरपालिका –५ निवासी अन्दाजी ४५ वर्षीय रमेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार साँझ स्थानीयवासीले बस्नेतलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमा अनुसन्धान सुरु गरेको हो ।