.

प्रतिनिधिसभा बैठक फेरि स्थगित, अब शनिबार बिहान ११ बजे बस्ने

प्रतिनिधिसभाको बैठक फेरि सूचना प्रकाशित गर्दै स्थगित गरिएको छ। शुक्रबार (असार १२) दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै शनिबार (असार १३) बिहान ११ बजेका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेका हुन्।

यसअघि असार ११ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर असार १२ मा सारिएको थियो। तर, शुक्रबार पनि बैठक बस्न नसकेपछि फेरि एक दिनका लागि स्थगित गरिएको हो।

बैठक स्थगनको मुख्य कारण सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन रहेको बताइएको छ। असार ७ गते तीनदिने कार्यक्रमका रूपमा सुरु भएको महाधिवेशन लम्बिएको छ भने पदाधिकारी चयनपछि आज (असार १२) समापन गर्ने तयारी गरिएको छ।

हाल मन्त्री, सांसदसहित रास्वपाका अधिकांश शीर्ष नेता चितवनको भरतपुरमा महाधिवेशनमा सहभागी रहेकाले प्रतिनिधिसभा बैठक प्रभावित भएको जनाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत गर्ने र बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया