.

बक्राहा मनपरी दोहन भएको स्थानीयको आरोप

मोरङको रतुवामाई नगरपालिकाको बक्राहा खोलामा जथाभावी उत्खनन् भएको आरोप स्थानीयले लगाएका छन् । रतुवामाई–५ स्थित रतिलाल टोलका स्थानीयले खोला उत्खनन्मा मापदण्ड मिचिएको आरोप लगाएका हुन् ।

स्थानीय रमेश बस्नेतले ठेकेदारलाई २५ ट्याक्टरसम्म भरोट झिक्न भनिएको स्थानमा ५० देखि एकसय ट्याक्टरसम्म लगेको आरोप लगाएका छन् । वडाअध्यक्षको सिफारिसका आधारमा मनपरी ढंगबाट बक्राहाको बालुवा, गिट्टीको बिक्री भइरहेको भनाई छ । अर्का स्थानीय टंक चौंलागाईले बक्राहा खोलामा जेसिभी नै प्रयोग गरेर कटान गरिदाँ त्यसले बस्ती जोखिममा पारिरहेको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी समेतको मिलेमतोमा यस्तो काम भइरहेको उनको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरुबल्लभ (कुबेर) बरालका अनुसार यो वर्ष रतुवामाईले बक्राहा खोलामा ठेक्का नलगाएको बताएका छन् । तर, स्थानीय तहले आवश्यक पर्ने खोलाजन्य सामाग्री झिक्नका लागि प्राविधिक मूल्यांकन गरिने गरिएको उनको दावी छ । अहिले विवाद देखिएको रतुवामाई ५ को उक्त क्षेत्रमा ८ नम्बर वडा कार्यालय निर्माणको जिम्मेवारी लिएका ठेकेदारले विदाको दिन पारेर केहि बढी उत्खनन् गरेको आशंका भने गरिएको छ । त्यसको समेत अनुगमन गरेर ठेकेदारमाथि कारवाही हुने उनले बताएका छन् ।

रतुवामाई नगरपालिकाले बक्राहा खोलाको १७ घाटबाट खोलाजन्य सामाग्री उत्खनन् गर्ने गरी वातावरण प्रभाव मूल्यांकन गरिसकेको छ । त्यो प्रतिवेदन ढिलो गरी प्राप्त भएकोले चालु वर्षमा दुई महिनाका लागि मात्रै ठेक्का लगाउन नसकिएको हो । आगामी आर्थिक वर्षमा ठेक्का लगाउने बाटो खुल्ला भएपनि यो वर्षको आवश्यकता पूर्तिका लागि स्थानीय तहले प्राविधिक मूल्यांकन गर्ने र त्यसका आधारमा आवश्यक सामाग्री झिक्ने काम भइरहेको बरालले जानकारी दिएका छन् । तर, त्यहाँबाट झिकिएको सामाग्री रतुवामाई भन्दा बाहिर लैजान भने नपाइने नियम समेत लगाइएको दावी ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया