.

चाडबाडमा सुरक्षा चुस्त राख्न कोशीमा ७ हजार प्रहरी परिचालन

विराटनगर , ६ कात्तिक । दसैँ तथा तिहार पर्वको बेला कोशी प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न ७ हजार भन्दा बढी प्रहरी नियमित परिचालन गरिने भएको छ । चाडपर्वको बेला हुनसक्ने विभिन्न अवाञ्छित क्रियाकलाप र अपराधलाई नियन्त्रण गर्न ७ हजार ५१५ जना प्रहरी काममा खटिने गरी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुरक्षा योजना कार्यान्वन गरिने जानकारी दिएको हो ।

कोशी प्रदेशमा कार्यरत १० हजार प्रहरीमध्ये २५ प्रतिशत अर्थात दुई हजार ५०० प्रहरीमध्ये केही पर्व विदामा बस्नेछन् ।प्रहरी कार्यालय विराटनगरले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न ‘चाडपर्व लक्षित सुरक्षा योजना’ लागू गरेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरी ‘चाडपर्व लक्षित सुरक्षा योजना’ बनाएर कार्यान्वयन गरिरहेको छ ।

चाडपर्वको समयमा धेरै भीडभाड हुने र त्यसको मौका छोपी चोरी, लुटपाट लगायत विभिन्न आपराधिक क्रियाकलाप, जबर्जस्ती चन्दा संकलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुने सम्भावना बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ ।

चाडपर्वका बेला सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरुप सुरक्षा रणनीति अपनाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । 

यस क्रममा नियमित तथा आकस्मिक प्रहरी जाँच, भिगरेस चेकिङ, ओभर स्पिड, ओभरलोड चेकिङ, सीमा क्षेत्रमा कडा जाँच गर्नुका साथै पटका आतसबाजीको प्रयोग तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’, डिइआजी बास्तोलाले भने । विराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।

नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत कडा जाँच गरिने प्रहरीले जनाएको छ । तिहारमा पटका भित्रिन सक्ने भएकाले नाकामा थप कडाइ आवश्यक परेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया