.

धादिङ भूकम्प अपडेट ः २० वटा घरमा क्षति, ७५ वटा घर चर्किए


विराटनगर , ५ कात्तिक । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको ज्वालामुखी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताउनुभयो ।पटक–पटक चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय राजेश अधिकारीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन भइरहेको बताउनु भयो । यसअघि गएको असोज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक–पटक भूकम्प गएको थियो  । गएको २ गते राति बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसैगरी, असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङमा लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको बेला धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया