विराटनगर , बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा
कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा
आराधना गर्ने गरिन्छ । पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी
विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त गर्न सकिने
धार्मिक विश्वास छ । बडादसैं अन्तर्गत् घटस्थापना गरेसँगै नवदुर्गाका ९
ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन
शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन
कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन
कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ
। बडा दसैंको दोस्रो दिन आज देशभरिका
नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानेदेखि भक्तजनहरुको भीड लागेको छ ।
राजधानी काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान,
शोभाभगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र
इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा सोमबार बिहानैदेखि
दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । उपत्यकाबाहिर सुनसरीको धरानस्थित
दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना,
सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यवासिनीसहितका मन्दिरमा पनि
भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ । घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र
देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै
दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?