.

दशैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

विराटनगर , १९ असोज ।दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेज लगायतका धेरै संस्था बन्द हुन्छन् । समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दशैँको मुखमा खोल्दा यात्रुलाई दोब्बर तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् । 
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउनुहुन्छ। देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा गाडी दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । 
महासङ्घका अनुसार अहिले मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, वीपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाण्डौबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ । सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत गाडीलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ । दशैँको समयमा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्काे जिल्लामा धेरै यात्रु जाने गरेका छन् । 
यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे  सरोकारवाला निकायसँगको छलफल शुरु गरे जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै निष्कर्षमा पुग्ने बताउनुहुन्छ ।  विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ । ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया