१६ असोज। नेपालमा पहिरोको पूर्वसूचना दिने नयाँ प्रविधिको परीक्षण सफल भएको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
प्रयोगशालामा परीक्षण सफल भइसकेकाले यो प्रविधिलाई पहिलो चरणमा नागढुंगा सुरुङको पश्चिम भाग, सुन्दरीजलको खड्कागाउँ र तामाकोशी–५ हाइड्रोपावर क्याम्पको माथिल्लो भाग गरी तीन ठाउँमा जडान गरिँदै छ । भविष्यमा पहिरोको अन्य जोखिम क्षेत्रमा पनि विस्तार गर्ने योजना छ ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडीका अनुसार ताररहित यो प्रविधिले जमिनको कम्पन र स्लोप ९ढल्काइ०को संकेत पाउनासाथ खतराको संकेत स्वरुप साइरन बजाउँछ । साइरन बज्नासाथ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सकिन्छ ।
जमिनको कम्पन नाप्ने सेन्सरले स्वचालित रुपमा फिल्डमा नै खतराको संकेत स्वरुप साइरन बजाउने र जमिनबाट प्राप्त ढल्काइको डाटालाई कम्प्युटर सिस्टममा हेरेर र विश्लेषण गरेर पूर्व सतर्कता अपनाउन सकिने दोहोरो सुविधा भएकाले यो प्रविधिमार्फत् पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको दवाडीले बताइन् । ‘यस प्रविधिको सफल परीक्षण भएसँगै पहिरोको पूर्वसूचना दिने प्रविधिको क्षेत्रमा अझ थप अनुसन्धान गरी आगामी दिनहरुमा यस्तो प्रविधि विस्तार गर्दै जाने योजनामा छौं,’ जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक दवाडीले भनिन्, ‘यस प्रविधिको प्रयोगले पहिरोबाट हुनसक्ने सम्भावित दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास छ ।’
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २०७९ सालको मनसुनजन्य विपदका घटनासहितको प्रतिवेदनअनुसार सो वर्ष पहिरोका सबैभन्दा धेरै ३१० वटा घटनाबाट ९२ जनाको मृत्यु भएको थियो । १७ जना वेपत्ता, ८० जना घाइते र १ हजार ९६८ परिवार पहिरोबाट प्रभावित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?