जिल्ला प्रहरी कार्यालय इलामले शान्ति सुरक्षा कायम गर्न र ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ।
अभियानको पहिलो चरण अन्तर्गत इलाम बजार क्षेत्रबाट स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
पछिल्लो समय युवाहरूले मोटरसाइकलको साइलेन्सर लगायतका पार्टपुर्जा परिवर्तन गरी अनावश्यक आवाज निकाल्ने, तीव्र गतिमा सवारी चलाउने र रातिको समयमा सर्वसाधारणको शान्ति भंग गर्ने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको हो।
वैशाख ९ गते रातिदेखि सुरु गरिएको यस अभियानमा ट्राफिक नियम उल्लंघन गर्ने र दुर्घटनाको जोखिम बढाउने सवारी साधनलाई लक्षित गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक अनुसन्धान गरी प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामले सम्पूर्ण सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, मापदण्ड अनुसार सवारी चलाउन र ध्वनि प्रदूषण नगर्न आग्रह गर्दै सुरक्षित यातायात प्रणाली निर्माणमा सहयोग गर्न अपिल गरेको छ।