झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि एक नवजात शिशु (छोरा)को शव फेला परेको छ।
बिहीबार राति करिब ११ः ५० बजेको समयमा पुल मुनि शिशुको शव फेला परेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरमपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखिएको छ र उनीमाथि थप सोधपुछ तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शिशुलाई कसले र कुन अवस्थामा त्यहाँ छाडेको हो भन्नेबारे पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि थप खुल्ने झापा प्रहरीले जनाएको छ ।