धनुषामा एक पूर्व वडाध्यक्ष मृत भेटिएका छन् । सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले जानकारी दिए ।
प्रहरीका अनुसार महतोको शव बुधबार राति ११ बजे गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा फेला परेको हो ।
शव भेटिएको स्थलमा १०–१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतल समेत भेटिएको बताइएको छ । मृतक महतो सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।। घटनास्थलमा महतोसँगै रहेका भनिएका समूह हाल फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको पहिचान तथा खोजीको काम तीव्र पारिएको प्रहरी निरीक्षक दत्तले बताए । मतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैला नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।