नेकपा एमाले का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते मङ्गलवार हुने भएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार १० गते अदालतमा रिट निवेदन दिनुभएको थियो । यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गएको असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाण्डौमा उपस्थित गराइएको थियो । विशेष अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ ।