.

सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, केही घाइते

राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न परिस्थितिलाई लिएर गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ ।

आयोगले घटनाको छानबिन गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेको छ ।नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बनेको बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै ठूलो संख्यामा जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

  सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् भने  युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ । प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ। वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया