मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ। रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ। अन्तरिम आदेशका सम्बन्धमा आइतबार सुनुवाइ हुन लागेको हो । त्यसविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।
१०७ सदस्यीय मधेश प्रदेश सभामा एमाले बाहेकका सात दलले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्ने गरी सरकार गठनको आह्वान हुनुपर्ने माग राख्दै आएका छन् ।
एता
मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी असंवैधानिक तरिकाले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्तको विरुद्धमा आज पनि सात राजनीतिक दलले धर्ना दिएका छन्। आज बिहानैदेखि नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित कार्यकर्ताहरू मधेश भवन अगाडि धर्ना दिएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै प्रदेश प्रमुख भण्डारीले उपधारा ३ मा प्रवेश गरी ठुलो दलको हैसियतले एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै २४ कार्तिकदेखि नै सात दलले विरोध प्रदर्शनमा उत्रेका छन्। सर्वोच्च अदालतले यसअघि दीर्घकालीन असर पर्ने काम नगर्न÷नराउन सरकारलाई अन्तरिम आदेश दिइसकेका छन्।