.

उखुको रकम भुक्तानी नगरे आन्दोलनमा उत्रने किसानको चेतावनी

नेपाल उखु उत्पादक महासंघले सरकारलाई आफ्ना मागहरू पूरा गर्न अल्टिमेटम दिएको छ।

समयमै उखुको न्यूनतम् समर्थन मूल्य नतोकिएको र आर्थिक वर्ष २०८१÷८२ को बाँकी अनुदान रकम भुक्तानी नभएको भन्दै महासंघले मंसिर १३ गतेभित्र माग पूरा गर्न समयसीमा दिएको हो। महासंघका प्रवक्ता उमेश चन्द्र यादवका अनुसार, कृषि मन्त्रालय, उद्योगी र किसानबीच पटक–पटक भएको वार्ताबाट सहमति जुट्न नसकेपछि यो कडा निर्णय लिनुपरेको हो।

किसानले चालु आर्थिक वर्षका लागि प्रति क्विन्टल सात सय ५० रुपैयाँ मूल्य तोक्नुपर्ने माग राखेका छन्। त्यस्तै, अघिल्लो वर्ष सरकारले दिने भनेको प्रति क्विन्टल ७० रुपैयाँ अनुदानमध्ये बाँकी रहेको ३५ रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने किसानहरूको अडान छ।

यदि मंसिर १३ गतेभित्र माग पूरा नभए महासंघले १४ गतेदेखि आन्दोलन थाल्ने चेतावनी दिएको छ। आन्दोलनको पहिलो चरणमा १४ गते सलार्हीको हरिवनमा एक घण्टा राजमार्ग बन्द गरिनेछ भने १५ गतेबाट अनिश्चितकालीन राजमार्ग बन्द सहित देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।

सरकारको ढिलासुस्तीका कारण किसानले पुरानो मूल्य र उधारोमा उखु बिक्री गर्न बाध्य हुनुपरेको उखु उत्पादक महासंघको गुनासो छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया