खोटाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरूले खोटाङ जिल्लाबाट करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका छन् । संघले आइतबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
दिक्तेलमा रहेको करदाता सेवा कार्यालय हटाइएमा जिल्लावासी करसम्बन्धी सेवा सुविधाबाट बन्चित हुने, जिल्लाको व्यावसायिक वातावरणमा प्रतिकूल असर पर्ने र स्थानीय आर्थिक क्रियाकलापलाई नकारात्मक प्रभाव पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए ।
उनले दिक्तेलमा भएको कार्यालय हटाइए जिल्लावासीले अतिरिक्त खर्च व्यहोर्नु पर्ने लगायत दुर्गम जिल्लाबासीले अन्य सास्ती खेप्नु पर्ने भएकाले ज्ञापनपत्र बुझाइएको स्पष्ट पारे ।