विराटनगर ,२० । अविरल वर्षाका कारण कोशी प्रदेशमा कृषि बालीमा क्षति पुगेको छ । प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानमा क्षति पुगेको हो ।
वर्षा र हावाहुरीका कारण करिब १२ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कोशी प्रदेश कृषि निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङले जानकारी दिइन्। । सबैभन्दा बढी क्षति झापामा २१ हजार ८ सय २० टन, मोरङमा १६ हजार ४२०.८ टन र सुनसरीमा १२ हजार ६५८.४४ टन धानमा क्षति पुगेको छ।
उदयपुरमा १ हजार २९२ टन, खोटाङमा ४५०, भोजपुरमा ७४०, इलाममा ८९७.८, धनकुटामा ३८९.४, पाँचथरमा ३४१.४१, ओखलढुंगामा १९०, संखुवासभामा ३१२.५, सोलुखुम्बुमा ४०.९५ र तेह्रथुममा ३७२.०९ टन धानबालीमा क्षति पुगेको छ । वर्षा, बाढी र हावाहुरीले प्रदेशभर करिब २ अर्ब ५ करोड ४३ लाख ६७ हजार रुपैयाँबराबरको क्षति पुर्याएको छ ।