अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु
९ असार २०८१, शनिवार
0
प्रतिक्रिया
विराटनगर ,८ असार । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम सुरु गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् । त्यस क्रममा मन्त्री पुनले कार्यान्यवन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । मन्त्री पुनले बजेटको आकार कूल गार्हस्थ उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वन सहज भएको विश्वास व्यक्त गरे ।
पहिलो, दोश्रो र तेश्रो त्रैमाशिक योजना बनाएर काम गर्न र दसैं तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन उनको आग्रह थियो।
श्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको उनले बताए । मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालु र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको चर्चा गरे । चालु आर्थिक वर्षको बजेटमा अवस्तुवादी राजश्व संकलनको लक्ष्य राखिएकाले लक्ष्यभन्दा धेरै काम राजश्व संकलन भएको उनको टिप्पणी थियो ।
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरु चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको जनाए । त्यसले रोजगारी सृजना गर्नुका साथै मुलुकको समग्र अर्थतन्त्रमै योगदान पुग्ने मन्त्री पुनले उल्लेख गरे ।
मन्त्री पुनले स्थानीयतहमा जाने समानीकरण रकम तत्काल निकाशा गर्न निर्देशन दिए । ‘७ सय ५३ वटै स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन् । मन्त्री वा मन्त्रीभन्दा माथिल्लो ओहोदाका कसैले कानूनबाहिर गएर काम गर्न निर्देशन दिए अवज्ञा गर्न उनको सुझाव थियो । फरक प्रसंगमा मन्त्री पुनले आफू करिब चार महिनाअघि मन्त्रीका रुपमा आउँदा एक हजार फाइल ‘पेन्डिङ’ मा रहेको चर्चा गर्दै अहिले आफ्नो टेबलमा आएको फाइल एक दिन पनि नरोकिएको बताए ।