सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा काट्ने विषयलाई लिएर झडप भएको छ। सोमबार दाउरा सगोलमा काटेका स्थानीय आयुष विश्वकर्मा र दिपु परिवारबीच दाउरा बिक्रीको विषयमा विवाद चर्किएपछि झडप भएको हो।
बटुलेर राखिएको दाउरा आयुषले तीन भारी दाउरा दिपुलाई जानकारी नदिएर बेचेपछि झडप भएको जनाइएको छ।
झडपमा दिपुले धारिलो हतियार प्रयोग गरी आयुषको बायाँ कान काटेको र कान काटिएका आयुष गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट घोपाका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद भट्टराईले बताए। इलाका प्रहरी कार्यालय धरानका अनुसार घटनापछि आरोपी दिपु फरार रहेको र उनको खोजीकार्य भइरहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।