बाँकेको कोहलपुर नगरपालिका–३ शान्ति टोलमा सेप्टी ट्यांकी निर्माणका क्रममा रिङ भत्किएर च्यापिँदा तीन जना मजदुरको ज्यान गएको छ।
बुधबार बिहान करिब ९ बजेतिर स्थानीय एक व्यक्तिको घरको आँगनमा सेप्टी ट्यांकी बनाउने क्रममा अचानक रिङ भत्किएर मजदुरहरू पुरिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेहरू सबै कोहलपुर–३ का स्थानीय बासिन्दा हुन् ।
मृत्यु हुनेहरूमा ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् । मजदुरहरू ट्यांकीभित्र च्यापिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट मजदुरहरूको शव निकालेर पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।