पहिरोका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको पाँचथरको फिदिम–फालौट सडक खण्ड बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यता, इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा पुनः जमिन भास्सिन थालेपछि १२ परिवार उच्च जोखिममा परेका छन्।
फालेलुङ गाउँपालिका–८ आकाशे नजिक सडकमाथिबाट खसेको ढुंगा, माटो र लेदोले असार मसान्तदेखि सडक अवरुद्ध भएको थियो। गाउँपालिकाले मंगलबार दिनभर स्काभेटर परिचालन गरी पहिरो पन्छाएपछि बुधबार बिहानदेखि सडकमा सवारी आवागमन सुचारु भएको हो।
सडक सञ्चालनमा आएपछि फिदिमदेखि नाङ्गीन, याङनाम, सिदिन, प्राङबुङ हुँदै भारत सीमावर्ती चारराते, सन्दकपुर र फालौट क्षेत्रतर्फ जाने सवारी तथा दैनिक उपभोग्य वस्तु ढुवानी पुनः सहज भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिषकुमार कर्णले जानकारी दिए।
यसैबीच, पछिल्लो वर्षाका कारण इलामको सन्दकपुर गाउँपालिका–४ माबुको हरिसे क्षेत्रमा करिब २० रोपनी जमिन चिराचिरा परेर भास्सिन थालेपछि १२ परिवारलाई सुरक्षित स्थानमा जान सिफारिस गरिएको छ।
गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेली मगरका अनुसार साउन १० गतेको वर्षापछि जमिन थप भास्सिन थालेको हो। सोम राई, कल्पना राईलगायत १२ परिवार प्रत्यक्ष जोखिममा परेका छन्। त्यस्तै, नजिकै रहेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको हेडट्यांक, कार्यालय भवन र कर्मचारी क्वार्टरसमेत जोखिममा परेको छ।
उपाध्यक्ष लुङ्गेली, वडा नं। ४ का अध्यक्ष ढालबहादुर गुरुङ, गाउँपालिकाको विपद् व्यवस्थापन शाखा र माबु प्रहरी चौकीको टोलीले स्थलगत निरीक्षण गरी प्रभावित बस्ती तत्काल सुरक्षित स्थानमा सार्न, राहत व्यवस्थापन गर्न तथा स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गत वर्ष असोज १८ गतेको भीषण वर्षापछि सोही क्षेत्रमा गएको पहिरोमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं परिवार विस्थापित भएका थिए। यस वर्ष पुनः जमिन भास्सिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। गाउँपालिकाले प्रभावित क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यक परे थप बस्तीसमेत सुरक्षित स्थानमा सार्ने तयारी गरिएको जनाएको छ।