.

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही माग गर्दै प्रशासनमा बुझाइयो ज्ञापन पत्र

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्गठनिक आक्रमण र तोडफोडको विरोधमा नेपाल चिकित्सक संघ कोशी शाखाले सरकारको ध्यानाकर्षण गराएको छ ।

दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै संघले बुधबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं कोशी प्रदेश संयोजक डा. रोशन खड्का र महासचिव डा. बालकृष्ण शाहले प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापन पत्रमा पछिल्लो समय चिकित्सकहरूमाथि भइरहेका शृंखलाबद्ध आक्रमणले समग्र स्वास्थ्य क्षेत्र नै असुरक्षित बनेको उल्लेख गरिएको छ । 

चिकित्सक संघले नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि गरिएको भनिएको ‘अन्यायपूर्ण’ कारबाहीप्रति गम्भीर आपत्ति जनाएको छ । संघले स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न माग गर्दै चारबुँदे माग अघि सारेको छ ।

ज्ञापन पत्र बुझाउँदै महासचिव डा.साहले सुरक्षित कार्यस्थल बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नहुने बताए । प्रशासनले उक्त ज्ञापन पत्र तत्काल गृह मन्त्रालयमा पठाइने र चिकित्सकहरूको सुरक्षाका विषयमा संवेदनशील रहने प्रतिबद्धता जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया