.

विजय थलापति तमिलनाडुका मुख्यमन्त्री, ६ दशक पुरानो सत्ता चक्र अन्त्य

तमिलगा भेट्टी कझगम (टीभीके)का अध्यक्ष विजय थलापतिले आइतबार तमिलनाडुका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै राज्यमा करिब ६ दशकदेखि कायम डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने परम्परा अन्त्य भएको छ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित समारोहमा विजयलाई शपथ गराएका हुन्। विजयसँगै टीभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन्। उनले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन्। राज्यपालले उनलाई १३ मेभित्र विश्वासको मत लिन निर्देशन दिएका छन्।

मन्त्री पदको शपथ लिनेमा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेङ्गोट्टैयन, पी. वेङ्कटरमणन, सीटीआर निर्मलकुमार, ए. राजमोहन, टी.के. प्रभु र एस. कीर्तना रहेका छन्। मन्त्रिपरिषद्मा एक महिला तथा अनुसूचित जाति समुदायबाट एक प्रतिनिधिलाई समावेश गरिएको छ।

चेन्नईबाट पाँच मन्त्री समेटिएको मन्त्रिपरिषद्मा पश्चिमी क्षेत्रबाट दुई र दक्षिणी क्षेत्रबाट तीन जनालाई प्रतिनिधित्व दिइएको छ।

तमिलनाडुका मुख्यमन्त्री बनेपछि सी जोसेफ विजय थलापति लोकप्रिय तीन निर्णयको फाइलमा हस्ताक्षर गरेका छन् । उनले २०० युनिट निःशुल्क बिजुली र महिलाको सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पदको शपथ लिँदै थलापतिले आफ्नो पहिलो वाचा पूरा गर्दै २०० युनिट निःशुल्क बिजुलीसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । यसका साथै उनले महिलाको सुरक्षाका लागि विशेष बल गठनसम्बन्धी फाइलमा पनि हस्ताक्षर गरेका छन् ।

यस्तै उनले लागूऔषधको समस्यासँग जुध्न हरेक जिल्लामा विशेष बल गठन गर्ने निर्णयको फाइलमा पनि हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री बनेपछि विजयले आफू कुनै शाही वंशबाट नआएको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया