.

सुनकोसी मरिण डाइभर्सनमा लक्ष्यभन्दा बढी काम, ७।५ किलोमिटर सुरुङ खनियो

विराटनगर ,८ श्रावण । राष्ट्रिय गौरवका आयोजनाहरुले खर्च गर्न नसकेर काम निराशाजनक भइरहेको समयमा सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति भने लक्ष्यभन्दा बढी भएको छ । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र वित्तीय प्रगति लक्ष्यको ९९।७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । रकम अभावमा वित्तीय लक्ष्यमा थोरै कमी भएको आयोजनाको दावी छ । 

सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार खन्न सुरु भएपछिको ९ महिना १० दिनसम्म ९असार मसान्तसम्म० ७ हजार ५७१ मिटर ९७।५७१ किलोमिटर० सुरुङ खन्ने काम भएको छ । कुल १३।३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ५६। ८६ प्रतिशत सम्पन्न भएको हो ।

सुरुङ खन्ने काम कमलामाई नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल महाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउँ शीरमा सुरुङ पुगेको छ । १३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र यो नै सबैभन्दा बढी उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेको आयोजना प्रमुख बरालले बताए । सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ ।

आयोजनाको कुल लागत ४६ अर्व १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्व ८६ करोड गत आवसम्ममा खर्च भएको छ । २०८४ सालमा आयोजना सम्पन्न हुँदा कुल लागत बढेर ४९ अर्ब ४२ करोड पुग्ने आंकलन गरिएको छ । गत आर्थिक वर्ष मात्रै ५ अर्व ४१ करोड प्राप्त भइ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको रकम ४ अर्ब ३९ करोड ५४ लाख रहेको छ । तर भौतिक प्रगति बढेकाले ११ अर्ब खर्च हुन सक्ने आयोजनाको दाबी छ । आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने बताइएको छ । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत् गृह, सिचाइँ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ । यहीं रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ ।

५।५ डायमिटरको सुरुङ मार्ग निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक०ले अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टीबीएममार्फत खन्ने गरेको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले ठेक्का लिएको हो । १५ अर्व ५९ करोड ४० लाख रुपैयाँ अनुमान रहेकोमा कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिचाइँ सुविधा पुर्‍याउने रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया