कोशी प्रदेशमा हाल पश्चिमी र स्थानीय वायुका साथै न्यून चापीय क्षेत्रको मिश्रित प्रभावले मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
सोमबार पनि कोशी प्रदेशमा साधारणतया बादल लाग्ने र केही स्थानहरूमा मौसम खराब भई वर्षा हुने सम्भावना छ। कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।
देशभरको अवस्था हेर्दा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा समेत आंशिक बदली भई मेघगर्जनसहित वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस विपरीत, पश्चिम नेपालमा भने अत्यधिक गर्मीले जनजीवन प्रभावित हुने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा (लू) चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा तराईमा बढ्दो तापक्रमले चुनौती थपेको छ।