.

रंगेलीमा प्रशासन र वडा कार्यालय जलाउने व्यक्ति द्धारा पत्रकारमाथि निर्घात कुटपिट

मोरङको रंगेलीमा इलाका प्रशासन कार्यालय र वडा कार्यालय जलाएको घटनामा प्रत्यक्ष संलग्न रहेका विवादास्पद व्यक्तिले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन् ।

जेनजी आन्दोलनको आवरणमा प्रशासन र रंगेली नगरपालिका–६ को वडा कार्यालय जलाउने घटनाको नेतृत्वकर्तामध्येका अन्दाजी ३३ वर्षीय मोहमद सिराजउद्धिनले सक्रिय पत्रकार विशालकुमार मण्डलमाथि आक्रमण गरेका हुन् ।

प्रेस चौतारी मोरङको कार्यसमिति सदस्यसमेत रहेका मण्डल पूर्वी टाइम्स दैनिकमा कार्यरत पत्रकार हुन् ।  नियमित ‘रिपोर्टिङ’ सकेर घर फर्किने क्रममा मंगलबार साँझ पत्रकार मण्डलमाथि बाटो छेकेर गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मदिराको नशामा लठ्ठ रहेका सिराजुद्धिनले पत्रकारमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट मण्डलको शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रेस चौतारी मोरङका सचिव नवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर भएर पत्रकारको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ । घटना अत्यन्तै गम्भीर र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि पत्रकार मण्डलले पनि दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । सरकारी कार्यालयमा आगजनी गरिएको गम्भीर अभियोग लागेपछि भागेका सिराजउद्धिन अहिले पत्रकार कुटपिट प्रकरणमा पक्राउ परेका छन् भने प्रहरीले कानुनी कारबाहीलाई अघि बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया