विराटनगर महानगरपालिका–१४ जतुवास्थित सडक किनारमा लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले एक लाख ३४ हजार रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले बुधबार बिहान करिब ६ः४० बजे उक्त सामान फेला पारेको हो।
प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलीले जतुवास्थित सडक छेउमा रहेको परालको कुन्यूभित्र शङ्कास्पद रूपमा लुकाइएको अवस्थामा ती सामानहरू बरामद गरेको हो। तस्करहरूले भन्सार छली ल्याएका सामानहरू परालले छोपेर वेवारिसे अवस्थामा राखेका थिए।बरामद गरिएका सामानहरूमा २८८ बट्टा (१२ कार्टुन) रसगुल्ला, ८५ केजी चिनी र ग्यास चुलोमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू रहेका छन्। प्रहरीका अनुसार बरामद रसगुल्लाको मूल्य ९२ हजार १६०, चिनीको ५ हजार १०० र ग्यास चुलोका पार्टपुर्जाहरूको ३७ हजार २०० गरी जम्मा एक लाख ३४ हजार ७६० रुपैयाँ बराबरको रहेको छ।
बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। ती सामानहरूलाई आजै भन्सार कार्यालय रानीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।