विराटनगर । विराटनगरबाट ठूलो परिमाण लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपालमा खैरो हेरोइन ‘सप्लाई’ गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनु भयो । उहाँका अनसार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा गफगाफ गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । चेकजाँचका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको चुँडालको भनाइ छ ।
दुवै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । नेपालमा लागुऔषध ‘सप्लाई’ गर्न आएका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरुमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।