.

मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

विराटनगर । तराई–मधेशका धेरैजसो क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने छ दिनको भएको छ ।


मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइले आफ्नै घरमा पर्व मनाउँछन् । दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइ दिने गर्छन् ।


दाजुभाइले नयाँ वस्त्र, आभूषण कोसेली दिन्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तुभने एउटै रहेको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् महोत्तरी जलेश्वर–५ का ध्रुव राय बताउनुहुन्छ । यस्तै पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफ्ना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाएर मनाउँदै छन् ।


आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ । आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया