विराटनगर ,२९ असार । विराटनगर महानगरपलिकाले साउन १ गतेबाट सुर्तीजन्य वस्तुहरुको बिक्री वितरणलाई पूर्ण रोक लगाउने तयारी गरेको छ ।सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न अनुमती पाएका पसलहरुलाई समेत पूर्ण रुपमा रोक लगाउने तयारी गरेको महानगरपालिकाले इजाजत लिएर बिक्री गरिरहेका पसलहरुको इजाजत पनि रद्द गर्ने तयारी अगाडि बढाएको हो ।विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले साउन १ गतेबाट सुर्तिजन्य पदार्थ किनबेचमा पूर्णरुपमा रोक्ने भन्दै यस अभियानका बारेमा सबैलाई सचेत गराइएको बताएका छन् ।वतावरणलाई प्रदुषणमुक्त बनाउन र मानव स्वाथ्यलाई ध्यान दिएर सुर्तीजन्य वस्तुको सार्वजनिक बिक्रीमा नियन्त्रण गर्ने काम अगाडि बढाएको मेयर कोइरालाको भनाइ थियो ।
पत्रकारहरुसँगको एउटा कार्यक्रममा मेयर कोइरालाले वैशाख १ गतेबाट सुरु गरेको सुर्तीजन्य वस्तुको बिक्री वितरण नियन्त्रण गर्ने अभियान साउन १ गतेबाट महानगरका सबै वडामा लागु गर्न लागेको बताएका हुन् ।वैशाख १ गते बाट महानगरले सुर्तिजन्य पदार्थमा रोक लगाउने अभियानलाई सबै वडामा विस्तार गरेपछि विभिन्न समूह बनाएर अनुगमन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने मेयर कोइरालाले बताए ।
महानगरले विशेष गरेर सार्वजानिक स्थलहरु (विद्यालय, मन्दिर, अस्पताल, गुम्बा, मस्जिद आदि) मा सुर्तीजन्य वस्तुको किनबेच, उपभोग र सार्वजनिक खपतमा पूर्ण रोक लगाउने तयारी गरेको हो । यसले वातावरण प्रदुषणलाई पनि कम गर्न पनि निकै सहयोग पुग्ने महानगरको बुझाइ छ । अब आउने साउन १ गतेबाट भने अनुमती लिएर बिक्री वतरण गर्दै आएका व्यवसायिक फर्महरुलाई पनि बिक्री गर्न नदिने नीति लिएको उनले बताए ।
जथाभावी भोला गुट्का आदिका प्याकेटहरु फ्याक्ने र जहातहीँ थुक्दै हिड्ने प्रवृत्तिले वातावरण प्रदेषित भइरहेको छ । यसलाई रोक्न अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिने मेयर कोइरालाले बताए ।
यसका साथै महानगरमा रहेका पान पसलहरुमा समेत मिठा पान बाहेक अन्य सुर्तीजन्य पदार्थ बिक्री गर्न रोकिने सरसफाइ तथा वातावरण शाखाका प्रमुख पुनम दहालले बताए । प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट थुप्रै मानिसहरुको ज्यान जाने गरेको छ भने कयौं मानिसहरु क्यान्सर जस्तो घातक रोगबाट पीडित हुने गरेका छन् । महानगरको यस प्रकारको अभियानले केही हदसम्म भएपनि जनस्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि हुने विश्वास महानगरले लिएको छ ।