.

मोरङ र सुनसरीका अधिकांश स्थान डुबानमा

विराटनगर ,  २९ असार । वर्षाका कारण झापा, मोरङ र सुनसरीका अधिकांश स्थान डुबानमा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भइरहेको छ ।

वर्षापछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढी र डुबानबाट हुनसक्ने क्षतिको मध्यनजर गर्दै जोखिम रहेका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । जोखिम क्षेत्रमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहा, रतुवालगायतका दर्जनौं खोलामा बाढी आएको प्रहरीले जनाएको छ । बाढी आएका खोलाले ठाउँठाउँमा कटान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

सुनसरीको बराहक्षेत्र, रामधुनी लगायतका क्षेत्रमा सप्तकोशी नदीले कटान सुरु गरेको छ । नदीमा आएको बाढीका कारण तटीय क्षेत्रको १ सयदेखि १ सय ५० मिटरसम्म जमिन कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । आसपासका क्षेत्रमा डुबान सुरु भएसँगै मानवबस्तीलाई सुरक्षित स्थानतर्फ सार्न प्रशासनले पहल गरिरहेको छ ।

यस्तै इटहरी नगरपालिकाको तरहरासहित अधिकांश क्षेत्र, झुम्का लगायतका स्थान डुबानको जोखिममा परेका छन् । इटहरी, खनार, इनरुवा लगायतका क्षेत्र डुबानग्रस्त भएका छन् ।

सिंघिया खोलामा आएको बाढीले मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा घर बगाउँदा ३ परिवार विस्थापित भएका छन् । सार्वजनिक जग्गामा घर बनाएर बसेका अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । त्यस्तै, सिंघियाले कटान सुरु गर्दा खोला किनारमा बसोबास गर्दै आएका मञ्जय मुखिया र डब्बी मुखियाको घर जोखिममा परेको जानकारी उनले दिए । मञ्जय र डब्बीको परिवारसहित विस्थापित भएकाहरुलाई रामजानकी मन्दिरको सामुदायिक भवनमा राखिएको दाहालले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, जिल्ला प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ थापालगायतले बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि सुरक्षा निकायका प्रमुखहरुले बाढीपीडित परिवारलाई सुरक्षित वासस्थान एवं राहतका लागि विभिन्न निकायसँग पहल तथा समन्वय गरिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया