विराटनगर,२६ असार । विराटनगर महानगरपालिका ६ का २७ बर्सिया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ बर्सिया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
असार २० गते राती साढे ८ बजे विराटनगर ४ स्थित कोशी राजमार्ग दूध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्याइएको थियो ।
रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।
उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले बताए ।