.

मोरङको सिंघिया खोलामा महिलाको शव फेला

विराटनगर १२ असार । मोरङको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । कटहरी गाउँपालिका–२ मा पाहुना आएकी १ जना महिलाको शव आज सिंघिया खोलामा भेटिएको हो ।

सुनसरीको गढी गाउँपालिका–३ छिटाहा घर भएकी ३५ वर्षीया ठूलीदेवी चौधरीलाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार विराटनगर महानगरपालिका–८ स्थित सिंघिया खोलामा घोप्टो परेको अवस्थामा बिहान ११ः१० बजेतिर शव फेला परेको हो।

चौधरी कटहरी–२ आदर्श टोलमा रहेको नन्द श्यामकुमारी चौधरीको घरमा हिजो पाहुना आउनुभएको थियो।

‘नन्दको घरमा राति १२ बजेसम्म गफगाफ गरेर बसेको र त्यसपछि सबै जना सुतेको खुलेको छ। डेढ घण्टापछि हेर्दा सुतेको ठाउँमा भाउजूलाई नदेखेपछि नन्द श्यामकुमारीले आफन्तलाई खबर गरेको पाइयो,’ डीएसपी दाहालले भन्नुभयो,‘आफ्नो घर पनि नगएको पाइएपछि आफन्तले खोजी सुरु गरेछन्। खोलामा डुबेको अवस्थामा शव फेला परेपछि प्रहरीलाई घटनाको जानकारी आएको हो।’

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार ठूलीदेवीको शरीर काँप्ने समस्या थियो। ‘लामो समयदेखिको स्वास्थ्य समस्या ठीक नभएपछि आफन्तले झारफुकका लागि मोरङको बूढीगंगा गाउँपालिकाको बाँसबारीस्थित माताकोमा लिएर आएको खुलेको छ,’ आफन्तलाई उद्रित गर्दै डीएसपी दाहालले भन्नुभयो, ‘झारफुक गर्ने क्रममा माताले गाउँका मान्छेले नै बिगारेका कारण यस्तो समस्या भएको हो भनेर भनेकी रहिछन्।’

प्रहरीलाई आफन्तले भने अनुसार धामीझाँक्रीको काम गर्ने माताले गाउँकै मान्छेले बिगारेको भनेपछि ठूलीदेवीले निक्कै तनाव लिनुभएको थियो। त्यही तनावका कारण खोलामा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले ठूलीदेवीलाई झारफुक गर्ने माताका बारेमा खुल्न बाँकी रहेको जनाएको छ। ठूलीदेवी पाहुना गएको नन्दको घर खोलानजिकै छ।

मातासँग झारफुक गराएपछि उहाँ नन्दको घर गएकोसम्म खुलेको र राति कुन समयमा घटना भयो भनेर यकिन हुन नसकिरहेको डीएसपी दाहालले बताउनुभयो।

यस्तै, उहाँका अनुसार शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया