विराटनगर , १७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध परेको रिटको सुनुवाइका लागि इजलास तय भएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।
भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनिसकेको छ । सँगै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको थियो ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा भदौ ७ गते न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्षको समेत मत प्रयोग गरेपछि एमाले अदालत पुगेको थियो । थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?