ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ। कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिले संयुक्त रूपमा यो विरोध कार्यक्रम गरेका हुन्।
धनकुटाको मदन चोकमा आयोजित कोणसभामा सहभागीहरूले मुकुम्लुङ क्षेत्रलाई आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्रका रूपमा व्याख्या गरे। सो क्षेत्रमा केवलकार निर्माण गर्दा पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पर्ने उनीहरूको दाबी छ। विकासका नाममा स्थानीय समुदायको भावना र ऐतिहासिक महत्वमाथि हस्तक्षेप गर्न नहुने उनीहरूले बताए।
किराँत याक्थुम चुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङ र विश्व हिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईले मुकुम्लुङ आदिवासी समुदायको सभ्यता र आत्मसम्मानसँग जोडिएको भूमि भएको उल्लेख गरे। स्थानीयको सहमति र पर्याप्त वातावरणीय अध्ययनबिना अगाडि बढाइएका कुनै पनि आयोजना खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन्।
आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले संस्कृति र प्रकृतिमाथि चोट पुर्याउने गरी विकास लाद्न नहुने स्पष्ट पारे। यसअघि ताप्लेजुङ, धरान र विराटनगरमा पनि केवलकार निर्माणको विरोध हुँदै आएको छ। केवलकार निर्माणविरुद्ध आगामी माघ १८ गतेदेखि ताप्लेजुङमा थप आन्दोलन गर्ने तयारी भइरहेको संघर्ष समितिले जनाएको छ।