राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदका लागि आज आइतबार देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सकिएलगत्तै गणना सुरु हुने र साँझ ५ बजेभित्र एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने तयारी छ।
सातै प्रदेशका तोकिएका मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि धमाधम मतदान भइरहेको छ । प्रदेश राजधानी विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको हो । मतदानको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।
कोशीमा ती पदमध्ये दुई पदका लागि मात्रै मतदान हुनेछ । अन्य समूहतर्फ नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले उक्त पदका लागि मतदान आवश्यक भएन ।
कोशीमा महिला र दलित कोटा गरी दुई पदका लागि मात्र निर्वाचन भइरहेको छ । गठबन्धनमा एमालेबाट दलिततर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यकतर्फ रोशनी मेचे एवं नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने उम्मेदवार छन् ।राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका मेयर तथा उपमेयर र अध्यक्ष एवं उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । कोशी प्रदेशमा ९२ जना प्रदेशसभा सदस्यसहित कुल ३५९ जना मतदाता छन् । निर्वाचन प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ ।
निर्वाचनका लागि कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान केन्द्रहरू तोकिएका थिए। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहेको यस निर्वाचनमा सबै क्षेत्रमा मतदान उत्साहजनक र शान्तिपूर्ण रहेको आयोगले जनाएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ सदस्यमध्ये १८ जना निर्वाचनमार्फत चुनिन लागेका हुन् भने बाँकी १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन्।