.

धरानका होटल–रेष्टुरेन्टमा ‘घुमुवा प्रहरी’ बनेर चन्दा असुली, नक्कली प्रहरी पक्राउ

धरानको उपमहानगरपालिकाका विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा आफू प्रहरीको घुमुवा भएको भन्दै चन्दा असुली गर्दै हिँड्ने एक १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति धरान–१८ का होटलहरूमा रकम उठाउँदै गरेको अवस्थामा नक्कली प्रहरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने व्यक्ति धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय धनबहादुर राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानका डीएसपी भीषणबाबु राईका अनुसार धनबहादुरले आफू इलाका प्रहरी कार्यालय धरानमा कार्यरत घुमुवा प्रहरी भएको भन्दै होटल व्यवसायीहरूसँग पैसा माग्ने गरेको खुलेको छ । उनले प्रहरीको पहुँच र डर देखाउँदै नियमित रूपमा चन्दा उठाउने प्रयास गरिरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

होटल व्यवसायीहरूले उनको गतिविधि शंकास्पद देखेपछि इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए । प्राप्त सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै शनिबार राति उनलाई चन्दा असुली गरिरहेको अवस्थामा पक्राउ गरेको हो । अनुसन्धानका क्रममा उनी प्रहरी नभई सर्वसाधारण व्यक्ति रहेको पुष्टि भएको छ ।

पक्राउ परेका धनबहादुरको साथबाट प्र–१–०२–०५९ प ३०७६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले सर्वसाधारण तथा व्यवसायीहरूलाई आफू प्रहरी भएको दाबी गर्दै रकम माग्ने व्यक्तिप्रति सचेत रहन र यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया