विराटनगर , ३१ साउन । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का,नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।
बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
यसअघि पनि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो। तर उनीहरूबीच संसद खुलाउनेबारे कुनै सहमति जुट्न सकेको थिएन।
साउन १० गतेदेखि संघीय संसदका दुवै सदनको बैठक एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको छैन। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले दुवै सदनमा अवरोध गर्दै आएको हो।
सुन पगालेर तौल ६० किलो पुगेको छ। सुन प्रकरणको अनुसन्धान हाल सीआईबीले गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?