.

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा छ : अर्थमन्त्री महत

विराटनगर , ३० साउन  ।अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहे पनि नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखिएको बताएका छन्। 


आन्तरिक राजस्व विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री महतले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार हुँदै सकारात्मक बाटोमा उन्मुख भए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका हुन्। 


उनले कोरोना महामारी र रुस–युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। 


चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिए। महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको दावी गरे। 


कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीमा सुधार गर्दा पनि जीडीपी सकारात्मक भए पनि राजस्व संकलन भने कम हुनुको कारणबारे अध्ययन भइरहेको बताए। उनले कर प्रणालीलाई चुस्तदुरुस्त राखेकाले लक्ष्य अनुसारको राजस्व संकलन हुने विश्वास व्यक्त गरे।


त्यस्तै निजी व्यवसायीहरूले करको दरभन्दा पनि दायरा बढाउन सके सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्ने धारणा राखेका थिए। ठूलो संख्यामा व्यवसाय तथा व्यक्तिहरू कर प्रणाली बाहिर रहेकाले त्यसलाई समेट्न सक्नुपर्ने उनीहरूको भनाइ छ। व्यवस्थापन गोष्ठी दुई दिनसम्म चल्ने राजस्व विभागले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया