विराटनगर ,२६ साउन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशको विकास र समृद्धिको जिम्मेवारी युवाको भएको बताएका छन्।
अन्तरर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित युवा पदयात्रामा मन्त्री लिम्बूले सबै युवाहरूले आफूलाई सक्षम बनाएर देशको विकास र समृद्धिको जिम्मेवारी बहन गर्न तयारी गर्नुपर्ने बताएका हुन्। ।
उनले रोजगारीको व्यवस्था लगायतमा युवाहरुको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार तयार रहेको जिकिर गरे । मन्त्री लिम्बूले युवाहरूका लागि देशमै काम गर्ने अवस्था सिर्जना हुने भन्दै अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।
उनले मुलुकमा भएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने र संविधानमा भएका अधिकारलाई प्रयोग गर्नुपर्नेमा जोड दिए। त्यस्तै मन्त्री लिम्बूले मुलुकको आर्थिक विकासका लागि पनि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।