.

गौरमा दुई समुदायबीच झडपहुँदा तनाव, सुरक्षाकर्मी तैनाथ

रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ। अहिले सो क्षेत्रमा घटनाले उग्र रूप लिएसँगै शान्ति–सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 


घटना बिहीबार राति हिन्दू समुदायको विवाह जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवादबाट सुरु भएको थियो।  मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिट समेत भएको थियो । 


उक्त घटनापछि शुक्रबार बिहानैदेखि पुनः दुवै पक्षबीच झडप भई ढुंगामुढा सुरु भएको छ। यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । 


रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुषालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी घटनास्थल पुगेको जानकारी दिएका छन्। 


उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। घाइते वा पक्राउबारे आधिकारिक विवरण आउन बाँकी छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको रौतहट प्रशासनले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया