फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भोजपुरमा निर्वाचन प्रहरीहरूका लागि ‘नमुना मतदान’ अभ्यास गराइएको छ। निर्वाचन दिवसको अवसरमा बिहीबार स्थानीय टुँडिखेलमा आयोजित कार्यक्रममा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई मतदान केन्द्रको सुरक्षा र व्यवहारिक पक्षबारे अभ्यस्त बनाइएको हो।
अभ्यासका क्रममा निर्वाचन प्रहरीलाई महिला, पुरुष, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूप्रति गर्नुपर्ने मर्यादित व्यवहारका बारेमा सिकाइएको थियो। प्रमुख जिल्ला अधिकारी राजन पौडेलले मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्याहरूलाई समाधान गर्न यस्तो व्यवहारिक ज्ञानले सुरक्षाकर्मीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहज हुने बताए। नमुना मतदानमा निर्वाचनका बेला हुन सक्ने नाराबाजी, हुलहुज्जत र जबरजस्ती मतदान केन्द्र प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले निभाउनुपर्ने भूमिकाको समेत प्रदर्शन गरिएको थियो।
भोजपुरमा यस पटकको निर्वाचनका लागि सशस्त्र प्रहरीका ९६ जना र नेपाल प्रहरीका १ हजार १ जना निर्वाचन प्रहरी परिचालन गरिँदैछ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएका छन्। भोजपुरमा कुल १ लाख २५ हजार ७ सय ६६ मतदाता रहेका छन्।