राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् ।
उनले उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका हुन् । उनले नै काभ्रेमा रास्वपा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।बिहीबार दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको आरोप छ ।
मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय दिएका र चटकदार व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उनको आरोप छ ।
रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनले औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको राजीनामा पत्रमा उल्लेख छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका हुमागाईंले त्यसबेला १० हजार ५ सय ७३ मत पाएका थिए । यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी हुमागाईंले निर्वाचन आउन दुई साता बाँकी छँदा पार्टी परित्याग गरेका हुन् ।