नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज नागरिकसँग खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ। जनकपुरमा बुधबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे थप प्रष्ट पार्न पार्टी सभापति गगनकुमार थापाले आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा प्रत्यक्ष जवाफ दिनेछन्।
महामन्त्री थापाले राजनीतिक दलहरू जवाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्न नहुने भन्दै देशविदेशबाट सोधिने प्रश्नको सामना गर्न आफू तयार रहेको बताएका छन्। प्रविधिको प्रयोग गरी संसारभरबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसको तत्कालै जवाफ दिइने व्यवस्था मिलाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा उपस्थित सहभागीले पनि सिधै प्रश्न राख्न पाउनेछन्।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बने आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका ‘भिजन टेन’ मार्फत सार्वजनिक गरेको छ। नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रत्यक्ष प्रश्न गर्ने र नेताले सार्वजनिक रूपमा जवाफ दिने यो पहिलो अभ्यास हो। यस कार्यक्रमको सयौँ सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था समेत गरिएको छ।