.

रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माद्वारा राजीनामा घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्। केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य समेत रहेकी उनले पार्टीको कार्यशैली र पद्धतिप्रति गम्भीर असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन्।


उनले राजीनामा पत्रमा ‘जान्नेलाई छान्ने’ भन्ने नाराबाट प्रेरित भएर पार्टीमा आबद्ध भए पनि पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति र निर्णयहरू स्थापनाकालीन मूल्य र विधानविपरीत भएको उल्लेख गरेकी छन्। सङ्गठनमा दिनरात खटिएका क्षमतावान् व्यक्तिहरूको उचित मूल्याङ्कन नभएको र पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको उनको आरोप छ।

ममता शर्मा बाराकी हुन् र उनी रास्वपा मधेस प्रदेशको सङ्गठन विस्तारमा सुरुवाती चरणदेखि नै सक्रिय थिइन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि टिकट पाउने आशामा रहेकी उनी अन्तिम समयमा वञ्चित भएपछि थप असन्तुष्ट बनेकी थिइन्।

यसअघि समानुपातिकतर्फको बन्द सूचीका लागि भएको ‘प्राइमरी’ निर्वाचनमा उनले तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्। तर पार्टीले अन्तिम सूची बनाउँदा उनको नाम सातौँ नम्बरमा र्पुयाएपछि उनले समानुपातिक उम्मेदवार बन्न अस्वीकार गरेकी थिइन्। विधिको शासन र पारदर्शिताको नारा दिने पार्टीभित्रै विसङ्गति बढेको भन्दै उनले अब मौन बस्न नसक्ने बताएकी छन्। ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया