.

निर्वाचन आचारसंहिता उल्लंघनः विद्यालयमा ओलीको चुनावी कार्यक्रम

नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत विद्यालय परिसरमा राजनीतिक कार्यक्रम गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओली आइतबार दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित चुनावी प्रचारप्रसार र अन्तक्रिया कार्यक्रममा सहभागी भए।

नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको उक्त कार्यक्रममा ‘पूर्वप्रधानमन्त्रीसँग अन्तक्रिया’ लेखिएको ब्यानर राखिएको थियो। विद्यालयमा राजनीतिक गतिविधि गराउन सोही विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठ र व्यवस्थापन समिति अध्यक्ष रोमनाथ ओलीले मुख्य भूमिका खेलेको देखिन्छ। श्रेष्ठ एमाले निकट शिक्षक संगठनका पूर्वअध्यक्ष हुन् भने ओली एमालेका केन्द्रीय सदस्य हुन्। ।

निर्वाचन आचारसंहिता २०८२ ले विद्यालय र शिक्षकहरूका लागि स्पष्ट सीमा तोकेको छ। आचारसंहिताको दफा ४ (ग) अनुसार सरकारी वा सार्वजनिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न पाइँदैन। त्यस्तै दफा १० (ग) र (छ) मा शिक्षक वा कर्मचारीले राजनीतिक दलको पक्षमा भवन प्रयोग गर्न दिन वा प्रचारप्रसार गर्न निषेध गरिएको छ।


कानुनी व्यवस्थाको वास्ता नगरी गरिएको उक्त कार्यक्रममा एमालेका उच्च नेता र शिक्षक संगठनका पदाधिकारीहरूको ठूलो उपस्थिति थियो। कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष हंशबहादुर शाही, महासचिव प्रकाश खनाल, पूर्वअध्यक्ष लक्ष्मण शर्मा, एमाले नेता देवेन्द्र दाहाल र प्रदेश सभा सदस्य होमबहादुर थापा लगायत सहभागी थिए।


शैक्षिक संस्थालाई राजनीतिक अखडा बनाउन नहुने कानुनी प्रावधान भए पनि जिम्मेवार व्यक्तिहरूबाटै यसको उल्लंघन हुनुले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया